काठमाडौं । सत्तारुढ नेकपा माओवादी केन्द्रले प्रदेश १ को नाम कोशी राख्न सहमति दिएको विषयमा कमजोरी भएको निष्कर्ष निकालेको छ।
बुधबार पेरिसडाँडामा बसेको केन्द्रीय पदाधिकारी बैठकले कोशी नामकरणमा समहति जनाउनु पार्टीले लिएको नीतिविपरीत भएको ठहर गरेको एक नेताले बताए।
बैठकमा अध्यक्ष प्रचण्ड कोशी नामलाई लिएर पदाधिकारीहरुसँगको ब्रिफिङका क्रममा त्रुटि हुन गएको सुनाएका थिए।
कोशी प्रदेश नामकरण गर्ने क्रममा प्रदेशसभामा नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्र एक ठाउँ उभिँदा बहुमत जुटेको थियो।
तर पहिचान पक्षधरहरुले किरासहितका नाम अघि सारेर आन्दोलन चर्काइरहेको सन्दर्भमा माओवादीको यस्तो निष्कर्ष आएको हो। कोशीले पहिचान पक्षधहरुको भावनामा ठेस पुगेको भन्दै एक महिनादेखि लगातार आन्दोलन चलिरहेको छ।
तर कोशी प्रदेश सरकारको बुधबार बसेको मन्त्रिपरिषद् बैठकमा आन्दोलनलाई सम्बोधन गर्नेबारे कुनै कुरा भएन।
माओवादीले जनयुद्धदेखि नै जातीय पहिचानसहितको पक्षमा आफूलाई उभ्याउँदै आएको थियो। तर सातै प्रदेशको नाम भूगोल र नदीबाट राखिँदा माओवादीले आफूलाई पहिचानको अडानमा टिकाइरहन सकेन।