धरान । बचतकर्तालाई रकम फिर्ता गर्न नसकेपछि विवादमा घेरिएको धरानस्थित बराह बचत तथा ऋण सहकारी संस्थाले क्रमैसँग रकम फिर्ता गर्ने जनाएको छ । सहकारीको व्यवस्थापनसमेत हेरिरहेको बराह ग्रुप अफ कम्पनिका अध्यक्ष शिव लामिछानेले सहकारीको संकटलाई कम्पनिले नै जिम्मेवारी लिने बताएका हुन् ।
धरानमा पत्रकार सम्मेलन गर्दै बराहले वैशाख १५ गतेदेखि निक्षेप वर्गीकरणका आधारमा भुक्तानी दिने तयारी गरेको जानकारी दिए । उनले ग्राहकहरुलाई संयम अपनाउन र पर्खेर सहयोग गरिदिन आग्रह गरे । अध्यक्ष लामिछानेले तरलताको अभावले बैंकहरुसँगै सहकारीहरुलाई समेत नराम्रो असर गरेको बताउँदै सहकारी डुब्दैछ भन्ने हल्लाले अझ नकारात्मक असर गरेको बताए ।
सहकारीका अध्यक्ष मानबहादुर विश्वकर्माका अनुसार कोरोना महामारीका कारण बचत कम हुनु र ऋण लगानी नउठ्नु जस्ता कारणले समयमा भुक्तानी गर्न नसकिएको हो । सहकारीमा जम्मा गर्न नआउने तर एकैपटक भुक्तानी लिन मात्रै आउने सेवाग्राहीहरुको कारण समस्यामा परेको र ‘म्यानेज’ गर्न नसकिएको उनको भनाई छ ।
बराह बचत डुब्दैछ भन्ने हल्ला भएपछि पैसा माग्नेको लर्को लागेकोले समस्या आएको सञ्चालकहरुको भनाई छ । पैसा फिर्ता माग्दै बचतकर्ताहरु ओइरिएपछि सहकारीले पैसा फिर्ता गर्न नसक्दा अहिले तनाव उत्पन्न भएको छ । सहकारीले चैत २२ गते रकम दिने भनेपनि दिन नसकेपछि बचतकर्ताहरु थप आक्रोशित बनेका छन् ।
सहकारी आफ्नै आन्तरिक व्यवस्थापन समस्याका कारण अहिले समस्यामा परेको छ । बराह डिपार्टमेन्टको लागि धरानस्थित गोरखा डिपार्टमेन्टको विशाल भवन किनेपछि बराह ग्रुप अफ कम्पनि नै अहिले आर्थिक संकटमा परेको अनुमान गरिएको छ । बैंकहरुमा पनि तरलताको अभाव चुलिएपछि कम्पनिलाई रकम व्यवस्थापन गर्न समस्या परेको हो । धरानमा बराह ज्वेलरीबाट सुरु गरेको बराह ग्रुपले पछि सहकारी तथा डिपार्टमेन्ट स्टोरसमेत सञ्चालनमा ल्याएको थियो । यीसँगै ग्रुपले विभिन्न २८ वटा व्यवशाय सञ्चालन गरेको छ ।