विराटनगर । कोशी प्रदेश सरकारले समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम फिर्ता गर्ने प्रक्रिया सुरु गरेको छ ।
यस अन्तर्गत पहिलो चरणमा इटहरीस्थित अम्बे–कोशी बचत तथा ऋण सहकारी संस्थाका २८७ जना बचतकर्ताले आफ्नो रकम फिर्ता पाउने भएका हुन् ।
प्रदेशको उद्योग, कृषि तथा सहकारी मन्त्रालयअन्तर्गत गठित ‘समस्याग्रस्त सहकारी व्यवस्थापन समिति’ ले २० हजार रुपियाँभन्दा कम बचत भएका बचतकर्तालाई प्राथमिकतामा राखेर पहिलो चरणमा रकम फिर्ता दिन थालेको हो । इटहरीमा मुख्य कार्यालय रहेको सहकारीमा नौ हजार ५५९ जना सेयर सदस्य छन् ।
संस्थाको सेयर पुँजी चार करोड छ लाख रुपियाँभन्दा बढी छ । सहकारीले बचतकर्तालाई ४२ करोड ६० लाख ९८ हजार रुपियाँ फिर्ता गर्नुपर्ने दायित्व छ ।तर, हालसम्म एक हजार १७३ जना बचतकर्ताले मात्र आफ्नो रकम फिर्ताका लागि आधिकारिक दाबी पेस गरेका छन् ।