ओखलढुङ्गा । ओखलढुङ्गाको सुनकोशी गाउँपालिका–९, ककनीबाट बोका किनबेचको क्रममा नक्कली नोटको कारोबार गरेपछि प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार चम्पादेवी गाउँपालिकास्थित केउरिनीका २१ वर्षीय कृष्ण खत्री र ३३ वर्षीय ध्रुवबहादुर खत्रीलाई नियन्त्रणमा लिइएको हो । उनीहरूले सुनकोशी–९ मा स्थानीय हस्तबहादुर तामाङ र वीरबहादुर तामाङबाट तीन बोका खरिद गर्दा रु २८ हजारको कारोबार गरेका थिए ।
सो क्रममा दुवै जनाले रु १९ हजार बराबरको १९ थान हजार रूपैयाँको नक्कली नोट प्रयोग गरेको पाइएपछि उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । प्रारम्भिक सोधपुछका क्रममा उक्त नक्कली नोट काठमाडौँबाट ल्याएको खुलेको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको छ ।