सिन्धुली । सिन्धुलीको फिक्कल गाउँपालिका –२ नवलपुर पुल नजिक यात्रु सवार कार सुनकोसी नदीमा खसेको छ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार काठमाडौंबाट ओखलढुंगातर्फ जाँदै गरेको बागमती प्रदेश ०८००१ ख ०१४४ नम्बरको गणेश हिमाल तराई यातायात प्रालिको बसले ठक्कर दिँदा यात्रुसहितको कार सुनकोसी नदीमा खसेको हो ।
नदीमा खसेको कार र यात्रुको एकिन हुन सकेको छैन । प्रारम्भिक जानकारीअनुसार उक्त कार बससँग ठोक्किएपछि सुनकोसी नदीमा खसेको हो। कारमा एकजना निर्माण व्यवसायी,एकजना अपरेटरसहित तीनजना सवार रहेको अनुमान गरिएको छ।
मध्यपाहाडी राजमार्गमा रोकि रहेको कारलाई ओभरटेक गर्ने क्रममा बसले ठक्कर दिएको बसमा सवार यात्रुहरूले बताएका छन् । कार दुर्घटनास्थलबाट करिब ५० मिटर तल सुनकोसी नदीमा डुबेको छ।
घटनास्थलमा नेपाल प्रहरी,खुर्कोटस्थित सशस्त्र प्रहरीको गोताखोर टोली तथा स्थानीयले संयुक्तरूपमा खोजि कार्यमा खटिएका छन्। घटनाको थप विवरण आउन बाँकी छ।