प्रतिबन्धित लागुऔषध सहित झापाबाट तीन जना पक्राउ

न्युजलय ७ जेठ २०८०, आइतबार ०३:१७ मा प्रकाशित

झापा ।  झापाको छुट्टा छुट्टै स्थानबाट प्रतिबन्धित लागु औषध ब्राउन सुगर सहित  तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । 

भद्रपुर नगरपालिका–८ भद्रपुर विमान स्थलमा खटिएको सुरक्षा टोलीले चेकजाँचको क्रममा यति एयरको जहाजद्वारा काठमाडौँ जान लागेकी एक जनालाई पक्राउ गरेको हो । 

कमल गाउँपालिका–७ झापा घर भई काठमाडौँ बस्दै आएकी २६ बर्षीया एन्जल राईले भित्री बस्त्रमा लुकाई राखेको १५ ग्राम २ सय १० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो । उनी काठमाडौँ जान लागेकी थिइन् ।  

इलाका प्रहरी कार्यालय काँकडभिट्टा र लागु औषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगर नगरपालिका–६ मेची पुलबाट बुद्धशान्ती गाउँपालिका–१ का २२ वर्षीय समीर दर्जी, मेचीनगर–१ का २१ वर्षीय दीपेश कुमार राजवंशीलाई १ ग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो । 

प्रतिबन्धित लागु औषध ब्राउन सुगर सहित पक्राउ परेका उनीहरूका बारेमा थप अनुसन्धान भइरहेको जनाएको छ ।