कनकाई माई पुलमा बम राखेर आतङ्क फैलाउने खरेल पक्राउ

न्युजलय २५ पुस २०८२, शुक्रबार १२:४९ मा प्रकाशित

झापा । कनकाई नगरपालिका–४ कोटीहवन माईपुलमा प्रेसर कुकर बम राखेर आतङ्क फैलाउने एक जना पक्राउ परेका छन् । 

झापाको कन्काई –४ स्थित कन्काई पुलनजिक पुस १९ गते  बिहान बम राखेर आतङ्क फैलाउने झापाको कन्काई नगरपालिका–८ का ५५ वर्षीय खगेन्द्र खरेल पक्राउ परेका हुन् । 

उनी जिल्ला प्रहरी कार्यालय सुनसरी झुम्का काराकारबाट फरार कैदी समेत भएको पाइएको छ । उनलाई जिल्ला प्रहरी कार्यलय झापाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । 

पूर्वपश्चिम राजमार्गमा पर्ने माईखोला पुलनजिक सडकको उत्तरी भागमा फेला परेको शंकास्पद वस्तु अरीदमन गणस्थित नेपाली सेनाले त्यतिबेला निष्क्रिय पारेको थियो । 

प्रेसर कुकर बमसँगै सनातन सुरक्षा सेना नेपालको पर्चा समेत भेटिएको थियो । खरेल यसअघि पनि पटकपटक पक्राउ पर्दै छुट्दै आएका थिए ।