माटोको ढिस्कोले पुरिएर एक बालिकाको मृत्यु, पाँच घाइते

न्युजलय १० कार्तिक २०७८, बुधबार ०३:५८ मा प्रकाशित

सिराहा । सिराहामा माटोको ढिस्कोमा पुरिएर एक बालिकाको मृत्यु भएको छ भने पाँचजना घाइते भएका छन्।  

तिहारमा घर लिपपोत गर्न माटो लिन गएकी धनगढीमाई नगरपालिका– ५ जयपुरका प्रकाश कामैतकी ११ वर्षीया छोरी करिश्माकुमारी कामैतको माटोको ढिस्कोमा पुरिएर मृत्यु भएको हो।

माटो लिने ठाउँमा माटो निकाल्दै गर्दा उनको ढिस्कोमा पुरिएर मृत्यु भएको प्रहरीले जनाएको छ। स्थानीयले उद्धारको प्रयास गरे पनि बालिकाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ।

ढिस्कोमा परी ममतादेवी कामैत, सात वर्षीया सरिता महतो, सात वर्षीया सविता यादव, २६ वर्षीया सीतादेवी कामैत र १० वर्षीया रुवि कामैत घाइते भएको प्रहरीले जनाएको छ । 

ढिस्कोमा परी गम्भीर घाइते सवितालाई थप उपचारका लागि विराटनगर पठाइएको छ भने अन्य घाइतेको स्थानीय स्वास्थ्य केन्द्रमा उपचार भइरहेको प्रहरीले जनाएको छ।