विराटनगर । पत्रकारितामार्फत योगदान पुर्याएको भन्दै कोसी प्रदेश सरकारले चार जना पत्रकारलाई प्रदेश पत्रकारिता पुरस्कार प्रदान गरेको छ ।
राष्ट्रिय पत्रकारिता दिवसको अवसरमा इलामका दुई, झापा र सुनसरीका एक–एक जना पत्रकारलाई जनही एक लाख रुपैयाँ नगदसहित पुरस्कार प्रदान गरेको हो । सम्मानित हुनेहरुमा सुनसरीको धरानका राजेशकुमार यादव (राजेश विद्रोही), इलामका सटेन्द्रकुमार जबेगु र सोमनाथ अधिकारी (सोम सुसेली) र झापाकी अम्बिका भण्डारीलाई प्रदेश पत्रकारिता पुरस्कार प्रदान गरिएको हो ।
उनीहरूलाई कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पुरस्कार प्रदान गरे ।
यस्तै यता काठमाडौमा भएको एक कार्यक्रमका बिच प्रधानमन्त्री पुष्पकमल दाहालले विराटनगरका पत्रकार गणेश लम्साललाई राष्ट्रिय पत्रकारिता पुरस्कार प्रदान गरेका छन् ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा राष्ट्रिय पत्रकारिता पुरस्कार र वरिष्ठ पत्रकार सम्मान प्रदान गरेको थियो ।
आठौँ राष्ट्रिय पत्रकारिता दिवस, ‘पत्रकारितामा खोज र नवीनता ः लोकतान्त्रिक गणतन्त्रको सफलता’ भन्ने नाराका साथ मनाइएको छ ।