विराटनगर । मोरङको केराबारीमा एकजना युवा मृत फेला परेका छन्। मोबाइल चोरीको आरोपमा अघिल्लो दिन कुटपिट गरिएका
धरान –६ पानमारा घर भएका २० वर्षीय अनिष कटुवाल शुक्रबार दिउँसो मोरङको केराबारी गाउँपालिका–६ मुगुस्थित एउटा घरमा मृत फेला परेका हुन् ।
प्रदेश १ प्रहरीका अनुसार अनिष र उनका साथी पानमाराकै २० वर्षीय विशाल विश्वकर्मालाई केही युवाहरुले बिहीबार दिउँसो मोबाइल चोरीको आरोपमा कुटपिट गरेको खुलेको छ ।
प्रहरीका अनुसार कुटपिटमा धरानकै युवाहरुको संलग्नता देखिएको छ । कुटपिटपछि उनीहरुले विशाललाई मोटरसाइकलमा राखेर लगेको र अनिषलाई भने घटनास्थलमै छाडेको पाइएको प्रहरीले जनाएको छ ।
युवाहरुले मुक्का, लात्ता र दाउराले कुटपिट गर्दै मोटरसाइकलमा लगेपछि विशालले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले उनलाई उद्धार गरेर पानमारा पुर्यायो । त्यसपछि चोरी भएको भनिएको मोबाइलको १७ हजार रूपैयाँ तिरिदिने कवुल विशालले गरे ।
नाक र मुखबाट रगत बगिरहेको अवस्थामा अनिषलाई मृत फेला पारिएको हो।
शव पोस्टमार्टमका लागि धरानस्थित बीपी प्रतिष्ठान लगिएको छ । कुटपिटमा संलग्नमध्येका एकजना युवालाई नियन्त्रणमा लिएर सोधपुछ गर्ने र घटनाका बारेमा बुझ्ने काम भइरहेको प्रहरीले जनाएको छ।