इटहरी । लोकप्रियतावादले संसारका धेरै देशहरूलाई संकटमा पारेको भन्दै नेकपा एमालेका नेता योगेश भट्टराईले मतदाताले सचेत भएर मत हाल्नुपर्ने बताएका छन्।
प्रेस चौतारी नेपाल सुनसरीले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले लोकप्रियतावादी राजनीतिक दलहरूको विगत र भविष्य नहुने हुँदा देशलाई जोखिममा पार्ने दाबी गरे।
उनले अहिलेको चुनाव निकै अप्ठ्यारो परिस्थितिमा हुन लागेको र राष्ट्रियतासँंग जोडिएको बताउँदै मतदाताले विवेक पुर्याउनुपर्नेमा जोड दिए।
उनले नेपालको सार्वभौम संसदमाथि पटकपटक हमला भइरहेको उल्लेख गर्दै यो योपटक पनि निकै लामो खेल भएको बताए ।
उनले चुनावमा हुने गठबन्धनले भ्रष्टीकरण बढाउने भन्दै गठबन्धन बिनाको चुनावमा जान लागेको बताए ।
उनले यसपटकको चुनावमा नेकपा एमालेलाई ठूलो चुनौती रहेको बताए। सरकारमा भएको बेला भदौ २३ र २४ को ठूलो घटना भएकोले नैतिक जिम्मेवारी समेत नेकपा एमालेमा रहेको उल्लेख गरे । हामी पुरै ठिक थियौँ भन्ने एक खालको अतिवाद र पुरै बेठिक भन्ने अर्को खालको अतिवाद दुवै अतिवाद घातक रहेको उनले बताए ।
यसपटक नेकपा एमालेको टिकट वितरण कुनै निश्चित मापदण्ड बिनाको भएकोले आफूले मापदण्डको पक्षमा लबिङ गरेको बताउँदै पछि केही सुधारहरू समेत भएको बताए ।
पार्टीबाट कसले टिकट पाउने भन्ने कुरा अब बहसको विषय नरहेको र पार्टी एक ढिक्का भएर चुनावमा जानुपर्नेमा उनको जोड थियो।
उनले अझै पनि चुनावको वातावरण बनि नछोएको निर्वाचन आयोग र अदालत त्रस्त रहेको बताए । उनले झापा ५ मा एमाले अध्यक्ष केपी ओलीले चुनाव जित्ने दाबी गरे ।