काठमाण्डौ । जापानले आकाशमा उड्ने मोटरसाइकल निर्माण गरेको छ ।
स्टार्टअप कम्पनी एएलआई टेक्नोलजीजले होभर बाइक भनेर चिनिने आकाशमा उड्ने बाइक निर्माण गरेको हो। कम्पनीका अनुसार यसको मूल्य छ लाख ८० हजार डलर अर्थात् झन्डै आठ करोड १६ लाख नेपाली रुपैयाँ राखिएको छ।
बिबिसीका अनुसार होभरबाइकको ‘एक्सटुरिज्मो लिमिटेड एडिसन’ बुधबारदेखि जापानी बजारमा उपलब्ध भएको छ। आगामी वर्षको मध्यसम्ममा एक जना चढ्न मिल्ने ३०० केजी तौल भएका २०० वटा होभरबाइक उत्पादन गर्ने निर्माता कम्पनीको लक्ष्य छ।
प्रत्येक होभरबाइकमा एउटा इन्जिन र ब्याट्रीजडित चारवटा मोटरहरू छन्।
निर्माण कम्पनीले मानिसहरूले कार छोडेर आफ्नो उत्पादन प्रयोग गर्ने अपेक्षा गरेको छ। एकचोटि चार्ज गरेपछि यो होभरबाइक १०० किलोमिटर प्रतिघण्टाको गतिमा ४० मिनेटसम्म उड्न सक्ने एएलआई टेक्नोलोजीजले जनाएको छ।