झापा । झापाको एक विद्यालयको सेप्टी ट्याङ्कीमा डुबेर घाइते भएका एक छात्रको उपचारको क्रममा मृत्यु भएको छ।
मृत्यु हुनेमा मेचीनगर नगरपालिका–१० धुलाबारीका मेरिना लिम्बुकी ८ वर्षीय छोरा तान्छोक लिम्बु रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
बालक लिम्बुको मङ्गलबार बिहान बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरी कार्यालय झापाले जानकारी दिएको छ । लिम्बु धुलाबारीको सानो साथी किन्डर गार्टेन (मन्टेश्वरी) मा अध्ययनरत थिए।
खाजा खाएर शौचालय जाँदा छात्र लिम्बु सोही विद्यालयको शौचालयको सेप्टी ट्याङ्कीमा सोमबार दिउँसो २ बजे खसेका थिए। उनलाई तत्काल उद्धार गरी अचेत अवस्थामा उपचारका लागि हस्पिटल पुर्याएको थियो।
विद्यालयको लापरबाहीले बालकको ज्यान गएको अभिभावकहरू बताउँछन्। सेफ्टी ट्याङ्कीमाथि मक्किएको पलाइको टुक्रा मात्रै राखेर मन्टेश्वरीले दुर्घटना निम्त्याएको बताइएको छ ।
मन्टेश्वरीका सञ्चालक मनोज गुरुङ हुन्। घटना भए लगतै इलाका प्रहरी कार्यालय धुलाबारीले मन्टेश्वरीका सञ्चालक गुरुङलाई नियन्त्रणमा लिइसकेको जनाइएको छ।