सहकर्मीबाटै कुटिए सशस्त्र प्रहरी, चार जना घाइते

न्युजलय ३१ जेठ २०८०, बुधबार १२:१८ मा प्रकाशित

झापा । मिलेमतो गरेर गोरु तस्करी गरेको आरोपमा सादा पोसाकमा खटिएका सशस्त्र प्रहरी निरीक्षकसहितको टोलीको कुटाइबाट चार जना सशस्त्र प्रहरी जवान घाइते भएका छन् । 

सशस्त्र प्रहरी बल नम्बर १ बराह वाहिनीका डीआईजी अन्जनीकुमार पोखरेलले सादा पोसाकमा खटाएका सशस्त्र प्रहरी निरीक्षक नवलप्रभात राईसहितको टोलीले कुटपिट गर्दा झापाको नकलवन्दामा ड्युटीमा खटिएका सशस्त्र प्रहरी हवल्दार पासाङ तामाङ, सशस्त्र प्रहरी जवान रामबहादुर कार्की, गणेश तामाङ र शान्तकुमार राई घाइते भएका हुन् ।

नकलवन्दाको माता चोकमा ड्युटीमा रहेका पासाङलाई मंगलबार राति सादा पोसाकका प्रहरी निरीक्षक राईले कुटपिट गरेका थिए । ड्युटीमा रहेका पासाङलाई कुट्दै नकलवन्दाको बोर्डर आउट पोस्टमा पुर्याए । त्यसपछि पोस्टमा रहेका अन्य प्रहरीलाई पनि पोसाक लगाउन लगाएर मेची खोलामा चोबल्दै निर्घात कुटपिट गरेका थिए ।

सशस्त्र प्रहरीलाई कुटपिट गरेको थाहा पाएपछि कुटपिटमा संलग्न निरीक्षक राई, प्रहरी जवान राम सुन्दर तामाङ र जीवन बास्तोलालाई स्थानीयले सामान्य हातपात गरेपछि स्थिति थप तनावग्रस्त बनेको एक प्रत्यक्षदर्शीले बताए । स्थानीयले सशस्त्रको गाडी तोडफोड पनि गरेका थिए ।

मध्यराति सशस्त्र प्रहरी नम्बर २ हेडक्वार्टरका एसपी देवराज अर्यालसहितको टोली आएर आफ्नै कर्मचारी कुट्ने सादा पोसाकका प्रहरीलाई कारबाही गर्ने प्रतिबद्धता गरेपछि घटना तत्कालका लागि साम्य भएको थियो ।

सशस्त्र प्रहरी बल मुख्यालयका प्रवक्ताले घटनाबारे छानबिन सुरु गरेको र घटनाका दोषीहरूलाई कडा कारबाही गर्ने जनाएका छन् ।