झापा । झापाको माई मेलामा अत्याधिक पार्किङ शुल्क असुल गरेको पाइएको छ । ठेक्का पार्ने कम्पनिले नगरपालिकाले तोकेकोभन्दा तेब्बर बढी शुल्क असुलेपछि सर्वसाधारणले विरोध गरेका छन् ।
नगरपालिकाले यस वर्ष पनि सूचना निकाल्दा कुन सवारीसाधनबाट कति रकम असुल्ने भनी रकम नै तोकेर सूचना निकालेको थियो । तर, मेला ठेकेदारले मनपरी रकम असुलेको पाइएको छ । अघिल्ला वर्षहरुमा पनि पार्किङमा मनपरी शुल्क लिने गरीएको सर्वसाधारणको गुनासो छ ।
नगरपालिकाले तोकेको दररेटअनुसार साइकलमा २० रुपैयाँ, मोटरसाइकलमा ५० रुपैयाँ, कार, जिप, भ्यान लगायत साना सवारीलाई १०० रुपैयाँ र ठूला सवारीसाधन बस, ट्रक बापत २०० रुपैयाँ लिन पाइन्छ । तर मेला ठेकेदारले स्कुटर तथा मोटरसाइकलबाटै १०० रुपैयाँ र कार, भ्यान जिप लगायत साना सवारीको ३०० रुपैयाँ लिएको पाइएको छ ।
२४ लाख रुपैयाँमा छाया भरत कन्स्ट्रक्सन प्रालिले मेलाको ठेक्का लिएको कनकाई नगरपालिका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद खरेलले जानकारी दिएका छन् । पालिकाले तोकिएको दररेटभन्दा बढी रकम लिएमा कम्पनीलाई कारबाही गरिने उनले बताए ।
माघे सङ्क्रान्तिका दिन पूर्वको प्रसिद्ध धार्मिकस्थल कनकाई नदी किनारमा हरेक वर्ष माई मेला लाग्छ।