देशभर ८५.७२ प्रतिशत धान रोपाइँ सम्पन्न

न्युजलय १२ साउन २०८३, मङ्गलबार ०२:३७ मा प्रकाशित

काठमाडौँ । साउन दोस्रो सातासम्म आइपुग्दा देशभर ८५.७२ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ । 

कृषि, वन तथा वातावरण मन्त्रालयअन्तर्गतको कृषि विभागका अनुसार देशभर धानखेती हुने कुल १३ लाख ७० हजार ६२ हेक्टर क्षेत्रफलमध्ये हालसम्म ११ लाख ७४ हजार ३ सय ९२ हेक्टर (८५.७२ प्रतिशत) मा रोपाइँ सम्पन्न भएको छ। अझै १ लाख ९५ हजार ६ सय ६९ हेक्टर क्षेत्रफलमा धान रोप्न बाँकी छ।

प्रदेशगत रूपमा सबैभन्दा धेरै रोपाइँ हुन बाँकी रहेको प्रदेश मधेस हो। कुल ३ लाख ८५ हजार ९ सय ३३ हेक्टर धानखेती हुने क्षेत्रमा हालसम्म ३ लाख ५ सय ८० हेक्टर (७७.८८ प्रतिशत) मा मात्र रोपाइँ भएको छ। 

कोशी प्रदेशमा कुल २ लाख ७६ हजार ३ सय ८६ हेक्टरमध्ये २ लाख ४० हजार ३ सय ७७ हेक्टर (८६.९७ प्रतिशत) मा रोपाइँ सकिँदा १३.०३ प्रतिशत क्षेत्रफल बाँकी रहेको छ। 

विभागका अनुसार गत वर्षको तुलनामा यस वर्ष धान रोपाइँमा उल्लेखनीय सुधार देखिएको छ।