पोखरा । ओछ्यानमा पिसाब गरेको भन्दै ६ वर्षीय बालकको लिंगमा रबरले बाँधेर सजाय दिने पोखराको एक होस्टल वार्डेनलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पोखरा महानगरपालिका–१५ स्थित न्यू लाइफ होस्टलकी वार्डेन २७ वर्षीया जानुका नेपाली छन् ।
उनले राति ओछ्यानमा पिसाब गरेको भन्दै सोमबार बिहान बालकको लिंगमा रबरले बाँधिदिएकी थिइन् । ती बालक नजिकैको सिद्ध स्कुलमा नर्सरीमा अध्ययनरत रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
लामो समयसम्म यौनांग बाँधिएका कारण असह्य भएपछि ती बालक कक्षा कोठामा चर्को स्वरमा रोएको र त्यसैबाट उनको यौनांग बाँधिएको खुल्न आएको थियो । स्कुलले थाहा पाउँदा बालकको पेट पनि फुलिसकेको स्कुल स्रोतले जनाएको छ । बालकको स्वास्थ्य जाँचका लागि अस्पताल पठाइएको तर, नतिजा नआइसकेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरीक्षक दीपक केसीका अनुसार ती बालक डोल्पाबाट पढ्न पोखरा आएका हुन् ।
पक्राउ परेकी नेपालीविरुद्ध बालबालिकाविरुद्धको कसुर मुद्दामा जिल्ला अदालत कास्कीबाट पाँच दिनको म्याद थप गरेर अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।
हिमालयन गुडलाइफ, काठमाडौंद्वारा सञ्चालित उक्त होस्टलमा अभिभावक नभएका विद्यार्थी बस्दै आएका छन् । उक्त होस्टलमा ९ जनाले आश्रय लिइरहेको होस्टलकै एक कर्मचारीले जानकारी दिए ।