‘एरिना स्कुल च्याम्स रियालिटी सो’को दोस्रो संस्करण हुँदै

न्युजलय २३ भदौ २०८०, शनिवार ०६:३९ मा प्रकाशित

 इटहरी । एरिना टेलिभिजन इटहरीको रियालिटी डान्स सो ‘एरिना स्कुल च्याम्स’ १० वर्षपछि पुनः सुरु हुने भएको छ ।

इटहरी विराटनगरलाइनस्थित टेलिभिजन परिसरमा आयोजित समारोहमा निजी तथा आवासीय विद्यालय सङ्गठन नेपाल (प्याब्सन)का कोसी प्रदेश अध्यक्ष टीकाराम ढकाललगायतले सिल्ड अनावरण गरेका थिए ।

समीर कार्कीको अध्यक्षतामा भएको सो कार्यक्रममा मुख्य आमन्त्रित ढकालले सञ्चारमाध्यमसँग जोडिएर गरिने यस प्रकारका अतिरिक्त क्रियाकलापको सिकाइ प्रभावकारिता र समाजले हेर्ने दृष्टिकोण विशेष हुने गरेको अनुभव सुनाएका थिए ।

कार्यक्रमका वक्ताहरूले एरिना टेलिभिजनको आयोजनामा समुदाय तथा केन्द्र स्तरमा हुनलागेको छनोट एवम् प्रतियोगितात्मक स्वरूपको सो कार्यक्रमले पूर्वका बालबालिकामा नृत्यसम्बन्धी जागरण हुने अपेक्षा गरेका थिए ।

टेलिभिजनका प्रबन्ध सञ्चालक समीर कार्कीका अनुसार ‘एरिना स्कुल च्याम्स सिजन २’ को पहिलो छनोट चरणको अडिसन भदौ २८ गतेदेखि सुरु हुनेछ । सो क्रममा सुनसरी, मोरङ, झापा, उदयपुर र धनकुटा जिल्लाका २० भन्दा बढी विद्यालयमा छनोट प्रतियोगिता सञ्चालन गरी सय जना प्रतिस्पर्धी छनोट गरिनेछ । अडिसन राउन्ड पाँच महिनासम्म चल्नेछ ।

अडिसनबाट सय जना छानिएपछि इटहरीस्थित टेलिभिजन परिसरमा रहेको रियालिटी सो स्टुडियोमा साप्ताहिक छायाङ्कन हुनेछ, जसबाट क्रमशः ८०, ५०, ३० र २० प्रतियोगी छनोट गरिने छन् । त्यसपछि भोटिङ राउन्ड सुरु हुने टेलिभिजन व्यवस्थापनले जनाएको छ ।

एरिना टेलिभिजनले २०७० सालमा एरिना स्कुल च्याम्सको पहिलो संस्करण प्रसारण गरेको थियो, जुन पूर्वक्षेत्रकै पहिलो रियालिटी सो प्रतियोगिता थियो ।

बीचमा कोरोना, स्थान अभावलगायत कारणले स्थगित रहेको सो प्रतियोगिता हाल टेलिभिजनले आफ्नै भवन र रियालिटी सो स्टुडियो बनाएपछि पुनः सुरु गरिएको प्रबन्ध सञ्चालक कार्कीले बताए ।