इटहरी । इटहरीमा पशुपन्छीको उपचारका लागि भेटेरिनरी अस्पतालको भवन शिलान्यास भएको छ । मेयर हेमकर्ण पौडेलले भवनको शिलान्यास गरेका हुन् ।
पशु अस्पताल नहुँदा सोसम्बन्धि सेवा लिन इनरुवा पुग्नुपर्ने बाध्यता थियो । नगरमै भवन निर्माण भएपछि किसानहरुलाई स्थानीय स्तरमै सेवा उपलब्ध हुने उनले बताएका छन् ।
२ करोड ६ लाख ८२ हजार १ सय ६५ रुपैयाँ लागतमा तीन तले अस्पतालको भवन निर्माण हुनेछ । सम्झौताअनुसार २०८० साल चैत्रभित्र भवन निर्माण सकिनेछ । भवनमा कृषकहरूको लागि तालिम हलसमेत बन्ने छ ।
इटहरीका पशु डाक्टर दुर्गाबहादुर श्रेष्ठले अस्पतालमा एक्स रे, अल्ट्रासाउन्ड मेसिनबाट बिरामी पशुको चेकजाँच गरिने जानकारी दिए ।