विराटनगरमा युवामाथि तरबार प्रहार गर्ने दुईजना पक्राउ

न्युजलय ३१ साउन २०८०, बुधबार १२:५१ मा प्रकाशित

विराटनगर ।  विराटनगरको व्यस्त बजारमा दिनदहाडै एक युवामाथि तरबार प्रहार गरेको घटनामा संलग्न दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार विराटनगर महानगरपालिका–८ का २२ वर्षीय समीर हुसेन र विराटनगर–६ का २४ वर्षीय अशोक अन्सारीलाई पक्राउ गरिएको हो । 

विराटनगरस्थित नेपाल–भारत सीमा क्षेत्रनजिकबाट बुधबार बिहानका हुसेन र अन्सारीलाई पक्राउ गरिएको जनाइएको छ ।  दुवै जनाविरुद्ध ज्यान मार्ने उद्योगको मुद्दा चलाउने प्रहरीको तयारी छ । 

तरबार प्रहारबाट विराटनगर–८ का २२ वर्षीय महमद हलिम गम्भीर घाइते भएका थिए । दुवै हातमा गहिरो चोट लागेका उनको विराटनगरकै नोबेल शिक्षण अस्पतालमा उपचार भइरहेको छ । हलिममाथि विराटनगर–१० सन्सारीमाईस्थाननजिकै सोमबार दिउँसो तरबार हानिएको हो । 

प्रहरीको प्रारम्भिक अनुसन्धानबाट घटनामा आठजनाको संलग्नता देखिएको छ । फरार रहेका छजनाको खोजीका लागि मोरङ प्रहरीले विशेष टोली परिचालन गरेका छन् । घटनामा संलग्नको खोजीमा कोसी प्रदेश प्रहरी कार्यालय विराटनगरले पनि टोली खटाएको छ । 

घटनामा प्रयोग गरिएको तरबार भने प्रहरीले यसअघि नै बरामद गरिसकेको छ । हलिममाथि आक्रमण गरेपछि तरबार झाडीमा फालेर घटनामा संलग्नहरु भागेका थिए । पुरानै रिसईबीका कारण हलिममाथि तरबार हानिएको हुनसक्ने प्रहरीको भनाइ छ ।