माओवादी प्रदेश १ को अध्यक्षमा हर्कबहादुर नेम्वाङ (मिक्सो) विजयी

न्युजलय ८ पुस २०७८, बिहिबार ०६:५१ मा प्रकाशित

विराटनगर । नेकपा माओवादी केन्द्र प्रदेश १ को अध्यक्षमा हर्कबहादुर नेम्वाङ (मिक्सो) विजयी भएका छन् । मिक्सोले १६९ मत ल्याउँदा अर्का प्रत्याशी मुक्साहाङ मेन्याङ्बोले ६४ मत ल्याएका थिए ।

तीन जना उपाध्यक्षमा मणिकुमार साम्पाङ (१११), देवान चाम्लिङ (१२०) र शिवकुमार डाँगी (११३) विजयी भएका छन् । सचिव पदमा गणेश उप्रेती (सुशील)ले १४८ मत ल्याएर विजयी बने । 

यस्तै ३ जना सहसचिवमा कुमारी राई (११४), सागर किराँती (७३) र ऋषिराम ढुंगाना (९५) विजयी भएका छन् । कोषाध्यक्षमा ९३ मतका साथ रेवतराज पुरी (गगन) विजयी हुँदा निकटतम प्रतिद्वन्द्वी बन्दना झाँगडले ५७ मत प्राप्त गरिन् ।

९ जना पदाधिकारीका लागि भएको निर्वाचन प्रक्रियामा २४० जनाले मतदान गरेका थिए । १९ जना अनुपस्थित भएको निर्वाचन समितिले जनाएको छ ।

३ जना सहसचिवमा १३ जनाको उम्मेद्वारी परेको छ । जसमा ऋषिराम ढुंगाना, कुमारी राई र सागर राई विजयी बने । मङ्सिर २५ र २६ गते भएको प्रदेश अधिवेशनले २५९ जनाको कार्यसमिति सर्वसम्मतिले निर्वाचित गरेको थियो ।