धरान । धरानका मेयर हर्क साम्पाङलाई पत्रकार महासंघ सुनसरीले तीन दिने अल्टीमेटम दिँदै आफ्ना अभिव्यक्ति नसच्याए आन्दोलन गर्ने चेतावनी दिएको छ ।
बारम्बार प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताविरोधी गतिविधि गरेको भन्दै महासंघले बुझाएको ध्यानाकर्षण पत्रमा पत्रकार र सञ्चार माध्यमलक्षित आफ्ना अमर्यादित र गालीगलौजपूर्ण अभिव्यक्ति फिर्ता नलिए चरणबद्ध आन्दोलन थाल्ने चेतावनी दिएको छ ।
पत्रकार महासंघ सुनसरीका अध्यक्ष जनकऋषि राईको नेतृत्वमा उपमहानगरपालिका पुगेको पत्रकारको टोलीले तीन दिने अल्टीमेटम दिँदै पत्रकारहरूको सुरक्षा र पत्रकारिताको सम्बद्र्धन एवम् प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताप्रति स्थानीय सरकारको प्रतिबद्धता तीन दिनभित्र सार्वजनिक गर्न आग्रह गरेको छ ।
‘धरान उपमहानगरपालिकाका नगर प्रमुखका रूपमा तपाईँ हर्कराज राईले केही दिनयता प्रयोग गरेका पत्रकार र सञ्चार माध्यम लक्षित अमर्यादित, अशोभनीय र गालीगलौजपूर्ण भाषा तथा प्रेस तथा स्वतन्त्रताविरोधी गतिविधिप्रति नेपाली पत्रकारहरूको साझा संस्था नेपाल पत्रकार महासङ्घको गम्भीर ध्यानाकर्षण भएको छ,’ पत्रमा भनिएको छ, ‘कानुनको शासनले मात्र लोकतन्त्रलाई बलियो बनाउँछ, तर तपाईँले शृङ्खलाबद्ध रूपमा पत्रकारलाई गरेका दुव्र्यवहार र तपाईँका धम्कीपूर्ण अभिव्यक्तिले पत्रकारहरू असुरक्षित भएको महासङ्घ सुनसरी शाखाको ठहर छ ।’
लोकतन्त्रमा स्थायी प्रतिपक्ष मानिने प्रेसले आलोचनात्मक टिप्पणी गर्ने धर्म निर्वाह गर्दा त्यसलाई विरोधको अर्थमा बुझिनु गलत भएको जनाउँदै महासंघले भनेको छ, ‘पत्रकारलाई निसाना बनाएर तपाईँले दिएको अभिव्यक्ति गैरजिम्मेवार र अमर्यादित भएको ठहर गर्दै यसप्रति दुःख व्यक्त गर्दछौँ । आफ्ना नागरिकहरूको सुरक्षा गर्नुपर्ने दायित्व बोकेको स्थानीय सरकार प्रमुखबाट नै पत्रकारले असुरक्षित महसुस गर्नुपर्ने अवस्था आउनु चिन्ताको विषय हो ।’
टोलीमा पत्रकार महासंघका केन्द्रीय सदस्य अमर खड्का, पुर्वकेन्द्रीय उपाध्यक्षहरु हर्ष सुब्बा र किशोरकुमार कार्कीलगायत पत्रकारहरु सहभागि थिए । मेयर साम्पाङले ध्यानाकर्षण पत्र बुझ्दै दुई दिन भित्र पत्रकार तथा स्वतन्त्र प्रेसप्रति उपमहानगरपालिकाको धारणा सार्वजनिक गर्ने बताएका छन् ।