श्रीलंकाविरुद्ध भारतको शानदार जित

न्युजलय १३ फाल्गुण २०७८, शुक्रबार ०१:३५ मा प्रकाशित

काठमाडौं । श्रीलंकाविरुद्धको टी–२० सिरिजअन्तर्गत पहिलो खेलमा घरेलु टोली भारत ६२ रनले विजयी भएको छ । गएराति भएको खेलमा २०० रनको लक्ष्य पछ्याएको श्रीलंकाले २० ओभरमा ६ विकेट गुमाएर १३७ रन मात्र बनाउन सक्यो ।

 

उसका चरिथ असलंकाले अविजित रहँदै ५३ रनको अर्धशतकीय पारी खेले पनि टोलीलाई जित दिलाउन सकेनन् । ४७ बलको सामना गरेका उनले पाँच चौका प्रहार गरे ।


दुश्मन्था चामिरा २४ रनमा अविजित रहँदा चामिका करुणारत्नेले २१ रन जोडे । भारतका लागि वैंकटेस अय्यर र भुवनेश्वर कुमारले दुई/दुई तथा युजवेन्द्र चाहल र रवीन्द्र जडेजाले एकरएक विकेट हात पारे ।


त्यससअघि लखनउमा टस जितेर ब्याटिङ रोजेको भारतले निर्धारित २० ओभरमा दुई विकेट गुमाउँदै १९९ रन बनायो । उसका लागि इशान किसन र श्रेयस अय्यरले उत्कृष्ट प्रदर्शन गरे । किसनले ५६ बलमा १० चौका र तीन छक्कासहित ८९ रन बनाए ।

         

५७ रनमा अविजित रहेका अय्यरले २८ बलमा पाँच चौका र दुई छक्का प्रहार गरे । कप्तान रोहित शर्माले ४४ रन जोडे । श्रीलंका लाहिरु कुमारा र दसुन सनाकाले एकरएक विकेट हात पारे । यो जितसँगै भारतले तीन खेलको सिरिजमा १-० को अग्रता लिएको छ । दोस्रो खेल शनिबार हुनेछ ।