इटहरी । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपालले नेकपा एमाले केपी शर्मा ओलीको प्राइभेट कम्पनी भएको टिप्पणी गरेका छन् ।
सुनसरीको इटहरीमा एसको प्रदेश १ कमिटिले आयोजना गरेको प्रदेश स्तरीय कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै एमाले ओलीको प्राइभेट लिमिटेड कम्पनी जस्तै भएको उनको टिप्पणी छ । ‘त्यो एमाले केपी ओलीको प्राइमेट लिमिटेड कम्पनी भइसक्यो’, अध्यक्ष नेपालले भने, ‘हिजो हामी भन्दैन थियौँ तर अब भइसक्यो । यो महाधिवेशन पछि त झन् भइसक्यो । अरु कसैले नताके हुन्छ त्यहाँ त्यो निजि कम्पनी भइसक्यो ।’
साथै उनले एमाले एस भन्दा विचार तथा सिद्धान्तको हिसाबले पछाडी रहेको बताएका छन् । ओलीमा इमानदारीता र जनताका लागि काम गर्ने विचार नभएकै कारण जनताले मन नपराएको भन्दै उनले एसमा लाग्नेहरुलाई इमान्दार बन्न अनुरोध गरे । उनले यी सबै सस्कार सहितको एस निर्माण अभियानमा आफू लगेको बताए । ‘सहजतालाई मान्छेले मनपराउँछ । इमानदारीतालाई मान्छेले मन पराउँछ, सजनतालाई मान्छेले मन पराउँछ’, उनले भने, ‘त्यसैले हामी बेग्लै संस्कार हुर्काउन चाहन्छौँ । त्यसैले हामीले यो पार्टीलाई अघाडि बढाएका छौँ ।’
सम्बोधनका क्रममा पटक पटक ओली विरुद्ध कटाक्ष प्रकट गरेका अध्यक्ष नेपालले एमालेको १४ औँ महाधिवेशनबाट कम्युनिष्ट विचार धारा र प्रविधिलाई ओलीले तिलान्जली दिएको टिप्पणी गरेका छन् । उनले त्यहाँबाट व्यक्तिबादको सुरुवात भएको बताए । ‘जब चितवनमा कुम्भ मेला भएको थियो । कुम्भ मेला पछि त्यहाँ तमासा भएको थियो । जनताको बहुदलीय जनवादको खिल्ली उडाइएको थियो’, अध्यक्ष नेपालले भने, ‘सबै अधिकारहरु खोसिएको थियो । एक व्यक्ति तानासाही हावि भइरहेको थियो । व्यक्ति पुजाको संस्कार हुक्र्याइँदै थियो । बा भन्ने संस्कृतिलाई जय जयकार गरिँदै थियो । कम्युनिष्ट विचार र मान्यतालाई तिलान्जली दिइएको थियो ।’
त्यहाँबाट एमाले कम्यूनिष्ट भन्दा पनि ‘ओलीवादी’ भएको पुष्टि भएर एसमा ठाउँ खोज्न आउनेको लर्को लागेको उनको भनाइ छ । त्यसले धेरैको आँखा खोलिदिएको उनले बताए । दुई प्रदेशमा आफैँ पार्टीको नेता मुख्यमन्त्री रहेकाले आफूहरु एमाले भन्दा माथि पुगेको उनले बताए । आगामी तिनै तहको चुनावमा अत्याधिक मतका साथ विजयी भएर देशको पहिलो पार्टी नेकपा एस हुने उनको उद्घोष छ ।