खोटाङ । जङ्गलमा लागेको डढेलो गाउँ पस्दा खोटाङमा एकै दिन १५ घर जलेर नष्ट भएका छन् । जिल्लाको बाराहापोखरी गाउँपालिका–१ मा ११ परिवारको १३ वटा घर जलेर नष्ट भएको छ । हलेसी तुवाचुङ नगरपालिका–४ बडहरेमा २ वटा जलेर नष्ट भएका छन् ।
बुधवार दिउँसो विभिन्न सामुदायिक वनमा लागेको डढेलो गाउँमा पस्दा बाराहापोखरीमा बसोबास नभएको तीन वटासहित १३ घर, ७ वटा मतान, २ वटा गोठ र १ बाख्राको खोर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।
रक्तमाला सामुदायिक वनमा लागेको डढेलोले भिरगाउँका मोहनलाल थापा मगरको दुई वटा घर र मतान, पूर्णबहादुर मगरको एक घर र तीन मतान, भद्रसिं मगरको घर र दुई वटा गोठ, सुवास थापा मगरको घर र मतान तथा मदन थापा मगरको बसोबास नभएको घर जलेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।
यस्तै, रक्तमाला सामुदायिक वनबाट आएको डढेलोले डान्सिङटारका गंगामायाँ मगरको दुई वटा घर र दुई वटा मतान, ४० वटा बाख्रा, आधा तोला सुन, नगद ५० हजार लगायत जलेको छ ।
यस्तै, धुसेनी सामुदायिक वनमा लागेको डढेलोले बसोबास नभएको खोर्सानेका सुमन मगर र गहतेका लेखराज खतिवडाको घर नष्ट भएको छ । डाँडाखर्क सामुदायिक वनमा लागेको डढेलोले डाँडाखर्कका होमबहादुर कटुवाल र पदमबहादुर कटुवालको घर जलेको छ ।
सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयले डढेलो नियन्त्रणको प्रयास गरिरहेका छन् ।
बुधवार दिउँसो स्थानीय ठूलोवन सामुदायिक वनमा लागेको डढेलोले हलेसी तुवाचुङ नगरपालिका–४ बडहरेको तल्लोखोक्सेलीका भूपराज आले मगर र भीमबहादुर बस्नेतको घर तथा नरबहादुर भुजेल, भेषबहादुर भुजेल र पदमबहादुर मगरको गोठ जलेको हो ।
इलाका प्रहरी कार्यालय महादेवस्थान र प्रहरी चौकी च्यास्मीटारका प्रहरीको टोली आगो नियन्त्रणमा लिएर फर्किएपछि पुन हावाहुरीले उडाएको आगोले बस्नेतको घर जलेको वडाध्यक्ष किशोर बस्नेतले बताए ।
सामुदायिक वनमा लागेको डढेलोमा जलेर रावाबेँसी गाउँपालिका–१ कुभिन्डे हरम्टारका ८५ वर्षीय सिद्धिबहादुर श्रेष्ठको डढेर मृत्यु भएको छ । स्थानीय हरमटार मैनचौर सामुदायिक वन लागेको डढेलोमा जलेर श्रेष्ठको बुधवार दिउँसो मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।