काठमाडौं । अमेरिकाको वासिङटन डीसीस्थित मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को बोर्ड बैठक बस्दैछ । नेपालको संसद्मा एमसीसी टेबल हुन नसकिरहेका बेला वासिङटन डीसीस्थित मुख्यालयले बोर्ड बैठक बोलाएको हो।
नेपालका राजनीतिक दलबीच तालमेल नमिल्दा संसदबाट एमसीसी पारित गर्ने प्रक्रिया अवरुद्द छ । एमसीसी मुख्यालयले डिसेम्बर १४ मा वासिङटनमा बस्ने बैठकमा नेपाल कम्प्याक्ट बारेमा छलफल हुने जनाएको छ। एमसीसीबारे दलहरु विभाजित भइरहेका बेला बस्न लागेको बैठकले नेपाल कम्प्याक्टबारे महत्वपूर्ण निर्णय लिन सक्ने स्रोतले बताएको छ।
अमेरिकाले एमसीसीअन्तर्गत ६० अर्ब रुपैयाँ अनुदान दिने बताएको छ। एमसीसी कार्यान्वयनअघि संसदबाट पारित गर्नुपर्ने व्यवस्था भएपछि नेपालका राजनीतिक दलहरु सोबारे विभाजित छन् । अमेरिकाले दिने भनेको झण्डै ६० अर्ब रुपैयाँ नेपालको उर्जा र सडकलगायत पूर्वाधार विकासमा प्रयोग गरिने भनिएको छ। तर एमसीसी कार्यान्वयन गर्न भएको ढिलाइबाट नेपाली जनता त्यसको लाभ लिनबाट बञ्चित भइरहेको एमसीसी मुख्यालयले जनाउँदै आएको छ ।
विसं २०७४ भदौ २९ गते तत्कालिन अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नेपालका तर्फबाट वासिङटन डीसीमा एमसीसी सम्झौतामा हस्ताक्षर गरेका थिए। एमसीसीकी उपाध्यक्ष फातिमा सुमार गत भदौ २४ गते नेपाल आएर संसदबाट अनुमोदन हुन भइरहेको ढिलाइबारे शीर्ष नेताहरुसँग छलफल गरेकी थिइन् ।