ओखलढुंगा । नेपाली कांग्रेस ओखलढुंगाको जिल्ला अधिवेशनअन्तर्गत मतदान स्थगित भएको छ । मतदान सुरू हुनुअघि नै केही व्यक्तिले मतपत्र बोकेर मतदानस्थल पुगेको पाइएपछि मतदान स्थगित भएको हो ।
ओखलढुंगा कांग्रेसको सभापति बन्न संस्थापन पक्षका तेजेन्द्र खनाल र संस्थापनइतर समूहका बालकृष्ण दाहाल प्रतिस्पर्धामा छन् ।
निर्वाचन समितिले मतपत्र छपाएकै स्थानबाट संस्थापन पक्षले फर्जी मतपत्र बनाएर मतदानस्थलसम्म पुर्याएको भन्दै संस्थापन इतर पक्षले पुनः नयाँ मतपत्र बनाएर निर्वाचन हुनुपर्ने माग गरेको छ ।
ओखलढुंगाको सदरमुकामस्थित सगरमाथा जनता माविको खेलमैदानमा असन्तुष्ट पक्षले नाराबाजी गरेको छ ।
संस्थापन र इतर पक्षका नेता कार्यकर्ताबीच आरोप प्रत्यारोप चलिरहेको छ । तरुण दलका उपाध्यक्ष उत्तम थापामाथि आक्रमण प्रयास भएको आरोपसमेत संस्थापनइतर पक्षले लगाएको छ ।
निर्वाचन समितिले निकासबारे दुवै पक्षसँग छलफलको तयारी गरेको छ ।