बारा । स्रोत नखुलेको १६ लाख नेपाली रुपैयाँसहित एक भारतीय नागरिक शुक्रबार पक्राउ परेका छन् ।
कलैया उपमहानगरपालिका–१० दसगजास्थित मटिअर्वा गाउँबाट भारतको बिहार मोतिहारी जिल्ला बेलदर्वाका वडा ५ का रंजेश कुसवाहालाई प्रहरीले पक्राउ गरेको हो ।
उनीमाथि बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ अनुसारको कसुरमा मुद्दा दर्ता गरी हिरासतमा राखेर थप अनुसन्धान सुरु गरिएको प्रहरी नायब उपरीक्षक राजेश थापाले बताए ।
बीआर–२२–ऐन–५०१४ नम्बरको भारतीय मोटरसाइकलमा सवार उनको मोटरसाइकलसमेत प्रहरीले नियन्त्रणमा लिएको छ । कुसवाहको साथबाट १ हजार दरका १३ सय र ५ सय दरका ६ सय थान गरी १६ लाख रुपैयाँ बरामद गरिएको प्रहरीले बताएको छ ।
उक्त रकम हेल्मेट र पाइन्टमा लुकाएको अवस्थामा बरामद गरिएको प्रहरी नायब उपरीक्षक थापाले बताए । उक्त रकम हुण्डीको हुनसक्ने भन्दै अनुसन्धान गरिएको प्रहरीले जनाएको छ ।