होलीमा रंग खेल्नु अघि यि कुरामा ध्यान दिनुहोस्

न्युजलय २२ फाल्गुण २०७९, सोमबार ०८:१६ मा प्रकाशित

काठमाडौँ । आज फागु पूर्णिमा, अर्थात् रंगहरूको पर्व। पहाडी जिल्लामा हर्षोल्लासका साथ विभिन्न किसिमका रंग एक आपसमा दलेर मनाउने गरिन्छ । तर रंगको गुणात्मकता थाहा नपाई एक आपसमा दल्दा स्वास्थ्यमा गम्भीर खालको समस्या उत्पन्न हुन सक्छ । 

बजारमा पाइने रंगहरूमा विभिन्न रसायन मिश्रण गरिएको हुनाले रंगको गुणस्तर थाहा पाएर मात्रै रंग खेल्नुपर्छ । कहिलेकाहीँ सावधानी अपनाएर होली खेल्दा पनि छालामा समस्या देखिने गर्छ ।  

पछिल्लो समय बजारमा सस्तो रसायन मिसिएका थरिथरिका रंगले होली खेल्दा छालामा थप जटिलता थपिएर छाला बिरामी अस्पताल पुग्ने गरेका छन् । रसायनयुक्त रंग प्रयोगले अल्पकालीन तथा दीर्घकालीन समस्या देखाउने भएकाले ख्याल गर्नुपर्ने विज्ञको भनाई छ ।

 

मिसावट रंगबाट देखिने समस्या 

होली खेल्ने क्रममा मिसावटयुक्त रंगमा छालालाई असर गर्ने केमिकल हुने भएकाले एलर्जी गराउँछ । जसले गर्दा छाला पोल्ने, चिलाउने, घाउ हुने, कपाल झर्ने, शरीरमा विभिन्न बिमिराहरू आउने र छालासम्बन्धी स्वास्थ्य समस्या देखिन सक्छ । 

धेरै टल्किने पेट्रोलियम पदार्थको जस्तो गन्ध आउने भिन्न किसिमका टल्किने रंगले होली खोल्दा स्वास्थ्य गम्भीर खालका स्वास्थ्य समस्या देखिन्छ । हानिकारक रंगहरूको प्रयोग गर्दा दीर्घकालीन रोग क्यान्सरसम्म गराउन सक्ने भएकाले सचेत हुन छाला रोग चिकित्सकहरू सुझाव दिन्छन् । 

रसायनयुक्त रंगहरू राम्रोसँग पनि पखालिँदैन । रसायनयुक्त चम्किला रंगहरू प्रयोग गर्नुको साटो फूल तथा बोटबिरुवाबाट बनेका रंगको प्रयोग गरेमा छाला तथा अन्य स्वास्थ्य असर गर्दैन ।   

 

होलीमा छालाको स्याहार कसरी गर्ने ?

– रंग मनतातो पानीले पखालिसकेपछि मोइस्चराइजर लगाउनुपर्छ ।

– रंग खेल्दा शरीर ढाक्ने गरी लुगा लगाउनुपर्छ ।

– रसायनयुक्त पानी धुलोबाट छालालाई जोगाउनुपर्छ ।

– होली खेल्दा सकेसम्म १० बजेदेखि ४ बजेसम्मको सूर्यको किरणले असर गर्ने भएकाले छाहरीमा खेल्नुपर्छ ।

– सनस्क्रिन लगाउँदा अनुहार र घाँटीमा लगाउनुपर्छ ।

– आँखालाई बचाउने र त्यसका लागि होली खेल्दा दिनभर मोटो र बाक्लो खालको चस्मा लगाउने । कनट्याक्ट लेन्स भने लगाउनुहुँदैन । 


होली खेल्दा सावधानी नअपनाइएमा आँखामा घाउ हुने, नाक, मुख, कानबाट केमिकलयुक्त रंग पसेमा आँखाको एर्लेजी, आँखामा सङ्क्रमण भई अन्धोपन समेत आउन सक्ने भएकाले होली खेल्दा बाक्लो खालको चस्मा लगाउनुपर्छ । आँखामा रंग परेको खण्डमा मिच्न हुँदैन । लगातार सफा पानीले पखाल्नुपर्छ । यस्तै केमिकलयुक्त रंग नाक मुखमार्फत छातीमा पसेमा स्वास्थ्यमा गम्भीर खालको असर समेत पुर्‍याउन सक्छ ।