धनकुटाबाट २ क्विन्टल गाँजासहित दुई युवा पक्राउ

न्युजलय ६ फाल्गुण २०८२, बुधबार ०१:१३ मा प्रकाशित

धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका–७ गर्जुवास्थित जङ्गलबाट लागू औषध गाँजासहित दुई जना पक्राउ परेका छन् । 

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको प्रादेशिक अनुसन्धान समूह र प्रहरी चौकी मुलघाटबाट खटिएको संयुक्त टोलीले २०५ केजी गाँजासहित स्थानीय दुई युवालाई नियन्त्रणमा लिएको हो ।

विशेष सूचनाका आधारमा फागुन ५ गते सो क्षेत्रमा पुगेको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा सेतो प्लास्टिकका १० वटा बोरामा लुकाएर राखिएको गाँजा फेला पारेको थियो ।

पक्राउ पर्नेमा साँगुरीगढी–७ का ३३ वर्षीय प्रकाश राई र ३४ वर्षीय अशोक राई रहेका छन् । प्रहरीले जङ्गलको बाटो हुँदै गाँजा ओसारपसार भइरहेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

पक्राउ परेका दुवै जनालाई अहिले जिल्ला प्रहरी कार्यालय धनकुटामा राखेर थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।