झापामा दाहसंस्कार गर्न लागिएको शव प्रहरीले लगेपछि

न्युजलय २३ साउन २०८०, मङ्गलबार ०१:०१ मा प्रकाशित

झापा । झापाको कनकाई माईमा दाहसंस्कार गर्न लागिएको एक महिलाको शव प्रहरीले चिताबाटै उठाएको छ ।

इलाका प्रहरी कार्यालय अनारमनीको प्रहरीको टोलीले चितामा राखेर दागवत्ती दिन ठिक्क पारेको अवस्थामा महिलाको शव चिताबाटै उठाएको हो ।

कनकाई नगरपालिका–३ की ३२ वर्षीया पूजा कोचकारको सोमबार दिउँसो मृत्यु भएपछि परिवारले अन्त्येष्टिका लागि कनकाई माईमा शव पुर्‍याइएको थियो ।

तर, प्रहरीले घाटबाटै शव उठाएर पोष्टमार्टमका लागि मेची प्रादेशिक अस्पताल भद्रपुर पठाएको हो ।

इलाका प्रहरी कार्यालय अनारमनीका अनुसार स्थानीयको मौखिक उजुरीका आधारमा शव नियन्त्रणमा लिदैँ पोस्टमार्टमका लागि अस्पताल पठाइएको हो ।

कनकाई नगरपालिका–३ निवासी ५० वर्षीय चोपेन्द्र कोचकारका दुईजना श्रीमती रहेको र मृतक पूजा उनकी कान्छी श्रीमती भएको बताइएको छ ।

प्रायजसोः घरमा सधैँजसो झगडा भइरहने र जेठी श्रीमती तथा उनका श्रीमानको कुटाइबाट उनको मृत्यु भएको हुनसक्ने भन्दै स्थानीयले प्रहरीलाई खबर गरेको बताइएको छ ।

घटनाका विषयमा अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।