छोरीले प्रेम विवाह गरेपछि बावुले आफ्नै परिवारका ७ जनालाई ज्युँदै जलाए

न्युजलय २ कार्तिक २०७८, मङ्गलबार ०१:४७ मा प्रकाशित

काठमाण्डौ ।  छोरीले आफूखुसी प्रेम विवाह गरेको भन्दै पाकिस्तानमा एक पुरुषले आफ्नै परिवारका सात जनालाई ज्युँदै जलाएका छन् । 

पाकिस्तानका मन्जुर हुसेनले छोरीले आफ्नो इच्छा विपरित प्रेम विवाह गरेको र आफ्नो आत्मसम्मान गुमेको भन्दै परिवारका सात सदस्यलाई ज्युदै जलाएका हुन् ।

उक्त घटना पाकिस्तानको पन्जाव प्रान्तस्थित मुजाफरगढ जिल्लाको हो । हुसेनले आफ्ना दुई छोरी र पाँचवटा नातिनातिनीलाई ज्युँदै जलाएका हुन् ।

हुसेनले छोरी फौजिया बिबिले आफ्नो इच्छा विपरित प्रेम विवाह गरेको भन्दै उनी श्रीमान र नाबालक छोरासहित माइतीमा बसेको बेला आगो लगाएर हत्या गरेका हुन् ।

सो घटनाबाट फौजिया बिबिका पति मेहबुब अहमद मात्र बाँच्न सफल भएको र घटनापछि उनले प्रहरीलाई खबर गरेको बताइएको छ । अहमदको बयानको आधारमा प्रहरीले घटनामा संलग्न भएको भन्दै ससुरा मन्जुर हुसेन र सालो सविर हुसेनलाई पक्राउ गरेको छ ।

प्रहरी अधिकृत अब्दुल मजिदले रोयटर्सलाई बताएअनुसार मृतक फौजिया र अहमदले सन् २०२० मा प्रेम विवाह गरेका थिए । उनीहरुको प्रेम विवाहका कारण दुई परिवारबीच टकराव पैदा सुरु भएको थियो । फौजियाका पिता मन्जुर हुसेन छोरीको वैवाहिक सम्बन्धविरुद्ध थिए ।

सोहि कारण उनले परिवारका सातै सदस्यलाई ज्युँदै जलाएको प्रहरीको निष्कर्श छ।