झापा । झापा विद्रोहका जीवितमध्येका एक नरेश खरेलले नेकपा एमाले परित्याग गरेका छन् ।
उनीसहित झापाका एक दर्जन नेता–कार्यकर्ताले आज पत्रकार सम्मेलन गरी एमालेको सम्पूर्ण जिम्मेवारीबाट मुक्त रहेको घोषणा गरेका हुन् ।
पार्टी परित्यागको घोषणा गर्दै उनीहरुले एमाले नेतृत्वले इमान्दार नेता कार्यकर्तालाई पाखा लगाउने,दक्षिणपन्थी यथास्थितिवादी शक्तिसँग साँठगाँठ गर्ने जस्ता गतिविधि नरोकेपछि बाध्य भएर विद्रोह गर्नुपरेको बताएका छन् ।
लामो समयदेखि पार्टीमा देखिएको गलत पध्दति, कार्यशैली र नीतिका विरुद्ध वैचारिक संघर्ष गर्दै पार्टीलाई रुपान्तरण गराउन गरेको प्रयास सफल नहुँदा यो परिस्थिति बनेको उल्लेख गर्दै उनीहरुले उल्टै आफूहरुलाई चरम अपमान गरिएको गुनासो पनि गरेका छन् ।
विगतका कमजोरीबाट पाठ सिकेर गल्ति कमजोरी सुधार्दै पार्टीलाई एकतावद्ध गराउनुको साटो नेतृत्व थप निरङ्कुश बन्ने र फरक मत राख्ने नेता कार्यकर्तामाथि अपमान गर्ने काममा तल्लिन भएको उनीहरुको ठहर छ ।
एमाले छोडेका खरेललगायतले कम्युनिष्ट आन्दोलनको उपलब्धि र कमजोरीको सही ढंगले मूल्यांकन गर्दै आ आफ्नो ठाउँमा गल्ति कमजोरीप्रति आत्मालोचित हुन सके वामआन्दोलनलाई नयाँ धरातलबाट उठाउन सकिने आशा अझै मारेका छैनन् ।
विगतमा भएका कमि कमजोरी महसुस गर्दै त्यसबाट शिक्षा लिई एकतावद्ध भइ लोकतान्त्रिक प्रणालीबाट प्रतिष्पर्धामा श्रेष्ठता हाँसिल गर्न राष्ट्रिय पुँजीको विकासको बाटोबाट जनतालाई श्रम,उत्पादन र रोजगारसँग जोड्दै समाजवादका आधार निर्माण गर्ने कार्यदिशा समात्नु नै आजको वाम आन्दोलनको एकताको बैचारिक आधार हुने उनीहरुको निष्कर्ष छ ।
पार्टी परित्याग गर्नेहरुमा खरेलसँगै हिराप्रसाद पोखरेल,रविना राना मगर,कल्पना पोखरेल, गेहराम भट्टराई,अरुण पोखरेल,महानन्द साह, भीमप्रसाद लुइंटेल, साजात आलम,आवालो दिन मिया,पदम थापा र चन्द्रा श्रेष्ठ रहेका छन् ।
झापा आन्दोलनमा लागेकै कारण १७ वर्ष जेल परेका खरेल समकालीन कम्युनिष्ट नेताहरुमा सबैभन्दा पाका र परिपक्क मानिन्छन् । उनी एमाले अध्यक्ष केपी ओलीका जेल सहयात्री पनि हुन् । तर,ओलीको रोजाइमा नपरेकै कारण आफ्नो राजनीतिक जीवनको उत्तरार्धमा खरेल लगभग पार्टीबिहीन अवस्थामा थिए ।