नबिल बैंकबाट चोरिएको रकमसहित ३ जना पक्राउ

न्युजलय २० बैशाख २०८१, बिहिबार ०१:२३ मा प्रकाशित

  वीरगन्ज ।  वीरगन्ज ब्रह्मचोकस्थित नबिल बैंकको बाइपास शाखामा चोरीएको लाखौँ रुपैयाँसहित भारत बीहार मोतीहारी जिल्लामा तीनजना पक्राउ परेका छन् ।

बिशेष सूचनाको आधारमा मोतीहारी जिल्लाको दरपा थाना क्षेत्र अन्तर्गत तिनकोनी गाउँबाट १८ लाख भन्दा बढी नेपाली रुपैयाँ तथा चोरीमा प्रयोग गरिने बिभिन्न उपकरणसहित एक महिला दुई पुरुष गरी तीनजना लाई भारतीय प्रहरीले पक्राउ गरेको हो।

पक्राउ पर्नेमा झरोखर थाना क्षेत्रका मन्टु कुमार, अर्जुन कुमार र दरपा थाना क्षेत्रकी सबिता देवी रहेको बताइएको छ ।

उनीहरूको साथबाट १८ लाख २३ हजार २ सय नेपाली रुपैयाँ एकथान घरेलु हतियार नलकटुवा, दुईथान गोली, लुटपाटको रकमबाट खरिद गरिएको एउटा सुनको औँठी, मोटरसाइकल र दुईथान थान मोबाइल, ड्रिल मेसिन, सिसिटीभि क्यामरा १ थान, सोल्डिङ मेसिन १ थान बरामद गरेको बताइएको छ । 

पक्राउ परेका तीनैजना जिल्ला अदालत मोतीहारीको आदेशमा मोतीहारी कारागारमा रहेका छन् भने बरामद रकम जिल्ला प्रहरी कार्यालय मोतीहारीको नियन्त्रणमा रहेको छ। आरोपहरु पक्राउ परेपछि एकजना बिरगंजका नेपाली सुरक्षा अधिकारीलाई बोलाएर पहिचान गराउनुका साथै बैंकको सिसी टिभी फुटेजबाट समेत पुष्टि गरिएको प्रहरीले जनाएको छ ।

गत आइतबार राती ५ देखि ६ जना चोरहरुको समूहले बैंकको मूल गेटको  ताल्चा फुटाएर एकसय र बीस रुपैयाँ दरको नोट गरी एक करोड ३४ लाख रुपैयाँ चोरी  लागेको पर्सा प्रहरीले जनाएको छ।  चोरहरूले मूल गेटको ताल्चा फुटाएर बैंकभित्र प्रवेश गरी टिनको बाकसमा राखिएको रकम बोरामा हालेर लगेको बैंकको सिसिटिभी क्यामेरामा रेकर्ड भएको भिडियोमा देखिएको छ।

पर्सा प्रहरीका प्रवक्ता डिएसपी कुमार विक्रम थापाले घटनाको थप अनुसन्धान भइरहेको जानकारी दिएका छन् ।