महासंघको सदस्यता शुद्धिकरण कडाइका साथ अघि बढाउन प्रेस चौतारीको माग

न्युजलय १२ जेठ २०८०, शुक्रबार ०८:४४ मा प्रकाशित

इटहरी । नेपाल प्रेस चौतारी सुनसरीले पत्रकार महासंघको सदस्यता शुद्धिकरण कडाइका साथ अघि बढाउन माग गरेको छ । शुक्रबार आयोजित साधारणसभाले सात बुँदे घोषणापत्र जारी गर्दै शुद्धीकरणका मापदण्डलाई पूर्णरुपमा लागु गर्न माग गरेको हो । साथै उसले शुद्धीकरण अभियानलाई सहयोग गर्ने समेत प्रतिबद्धता जनाएको छ ।


यस्तै श्रमजीवी पत्रकारहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउन, पत्रकारको विकास, सुरक्षा र प्रेस स्वतन्त्रताप्रति प्रतिबद्ध हुनसमेत सञ्चार संस्था र सरोकारवालाहरुसँग माग गरेको छ ।


प्रेस चौतारी सुनसरीले सुरक्षित कार्य वातावरण बनाउन सञ्चारमाध्यमहरुको ध्यानाकर्षण गराउँदै नेपाल सरकारले विभिन्न पत्रपत्रिकाहरूलाई दिँदै आएको लोक कल्याणकारी विज्ञापन नियमित रुपमा प्रदान गर्न, कोशी प्रदेशमा सञ्चार प्रतिष्ठान तत्काल गठन गर्नसमेत माग गरेको छ । 


प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्ष गणेश बस्नेत र केन्द्रीय उपाध्यक्ष गणेश पाण्डेको आतिथ्यमा आयोजित साधारणसभाको खुलासत्रमा बोल्दै विभिन्न वक्ताहरुले प्रेस स्वतन्त्रता, पत्रकारको विकास र सदस्ता शुद्धिकरणमा पत्रकारसम्बद्ध संगठनहरु सक्रिय हुनुपर्ने धारणा राखेका थिए । कार्यक्रममा प्रेस युनियन, नेपाल पत्रकार महासंघ, विभिन्न पार्टी संगठनका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । 


कार्यक्रममा पत्रकार रणध्वज लोहारलाई अमरबहादुर कार्की स्मृति पत्रकारिता पुरस्कार प्रदान गरिएको थियो । प्रेस चौतारी सुनसरीका पुर्व अध्यक्ष देवेन्द्र कार्कीले आफ्ना पिता स्व. अमरबहादुर कार्कीको स्मृतिमा स्थापना गरेको नगद १० हजार रुपैया राशीसहितको पुरस्कार कार्यक्रममा प्रदान गरिएको थियो ।  


साधारणसभाको बन्द सत्रले प्रेस चौतारी सुनसरीकी अध्यक्ष सुभद्रा प्याकुरेलले प्रस्तुत गरेको सांगठानिक प्रतिवेदन र कोषाध्यक्ष कृष्ण भट्टराईले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन सर्वसम्मतीले पास गरेको थियो ।