प्रदेश १ मा माओवादी केन्द्रको पदाधिकारी चयनका लागि निर्वाचन गर्ने तयारी

न्युजलय ५ पुस २०७८, सोमबार ०८:५७ मा प्रकाशित

विराटनगर । प्रदेश १ मा माओवादी केन्द्रको प्रदेश अध्यक्ष र पदाधिकारी चयन पेचिलो बनेको छ । प्रदेशको प्रथम अधिवेशनबाट अध्यक्षसहित पदाधिकारी सहमतिका आधारमा टुङ्गो लगाउने प्रयास असफल बनेपछि अब निर्वाचनको विधिबाट चयन हुने सम्भावना बढेको छ ।


यसअघि बसेको प्रदेश समितिको पहिलो बैठकले पदाधिकारी चयनका लागि भन्दै ५ सदस्यीय कार्यदल गठन गरेको थियो । उक्त कार्यदलमा माओवादी केन्द्र प्रदेश १ का सहइन्चार्ज अजम्बर काङ्माङको संयोजकत्वमा केन्द्रीय सदस्यहरु सुरेशकुमार राई, इन्द्रबहादुर आङ्बो, हेमराज भण्डारी र रामकुमारी चौधरी छन् ।


उक्त समितिको सोमबार बसेको बैठकमा पनि कुनै सहमति नजुटेपछि प्रदेश १ मा कार्यक्षेत्र भएका केन्द्रीय सदस्यहरुको बैठक मंगलबारका लागि बोलाइएको छ । 


पदाधिकारी छनोटसम्बन्धी सुझाव कार्यदलले सहमति जुटाउन नसकेपछि निर्वाचन प्रक्रियामै जानुपर्ने विषयमा प्रदेश सदस्यहरुले जोड दिएका छन् ।