अलपत्र नेपाली महिलाको शव नेपाल पठाउदै एनआरएनए कुवेत

न्युजलय २३ साउन २०८०, मङ्गलबार ०१:३९ मा प्रकाशित

काटमाडौँ । वैदेशिक रोजगारीमा कुवेत पुगेर मृत्यु भएकी एक नेपाली महिलाको शव स्वदेश पठाइने भएको छ । करिव डेढ महिनादेखि कुवेतमा अलपत्र परेको दाङकी दुर्गी कुमारी खत्रीको शव नेपाल पठाउन लागिएको हो ।

घरेलु कामदारको रुपमा कुवेत खत्री २०१४ मा नै मालिकको घरबाट भागेर अवैधानिक हैसियतमा बसोबास गर्दै आएकी थिइन। करिव दुई महिना पहिलेदेखि उनको स्वास्थ्यमा समस्या देखिए पनि गत जुन महिनाको २२ तारिकमा उनको मृत्यु भएको थियो ।

मृतक खत्री गैरकानुनी बाटो हुँदै नेपालबाट श्रम स्वीकृति नगरी कुवेत पुगेको कारण उनको शव पठाउन नेपाल सरकारले पहल नगरेको कारण करिव डेढ महिनादेखी उनको शव हस्पिटलमा अलपत्र अवस्थामा थियो।

अस्पतालमा शव अलपत्र परेपछि त्यहाँस्थित नेपाली दूतावासले गैरआवासीय नेपाली संघ कुवेतलाई जानकारी गराएको थियो । एनआरएनए पहलमा कुवेतमा क्रियाशील विभिन्न संघ संस्थाहरूले आर्थिक जुटाएर शव नेपाल पठाउने तयारी थालिएको एनआरएनए कुवेतका अध्यक्ष रणध्वोज लामाले जानकारी दिए ।