काठमाडौँ । अभिनेत्री एलिजा गौतमले सक्रिय राजनीतिबाट बिदा भएको घोषणा गरेकी छन् ।
नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेकी गौतमले धरान उपमहानगरका मेयर हर्कराज राईको कामबाट प्रभावित भएको उल्लेख गर्दै आफूले अब सक्रिय राजनीतिबाट विश्राम लिएको घोषणा गरेकी हुन् ।
उनले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘आज उहाँको (मेयर) श्रम शिविरस्थल पुगेर प्रत्यक्ष भेटवार्ता गर्ने अवसर मिलेको छ । म निकै खुशी छु । सो अवसरमा मेयर साहेबसँगै मैले पनि वृक्षरोपण गर्ने अवसर पाएँ । श्रम शिविरको लागि मैले आफ्नो व्यक्तिगत तर्फबाट १० वटा साबेल पनि प्रदान गरेकी छु । यहाँहरुले पनि आफ्नो तर्फबाट साथ र सहयोग गरिदिनुहुन अपिल गर्दछु ।’
उनले समाजसेवामा निरन्तर सक्रिय रहने र राजनीतिबाट बिदा भएको घोषणा गरेकी छन् । माघमा भैरहवामा आयोजित एक कार्यक्रममा नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले गौतमलाई पार्टीमा प्रवेश गराएकी थिइन् ।