ओमिक्रोन संक्रमण बढेपछि भारतको मुम्बईमा २ हप्ता निषेधाज्ञा

न्युजलय २ पुस २०७८, शुक्रबार १२:५२ मा प्रकाशित

काठमाडौं ।  भारतको मुम्बईमा २ हप्ताका लागि निषेधाज्ञा जारी गरिएको छ ।

मुम्बईमा बुधबार एकैदिन सात जनामा ओमिक्रोन भेरियन्टको संक्रमण पुष्टि भएपछि २ हप्ताका लागि निषेधाज्ञा जारी गरिएको हो । बिहीबारदेखि डिसेम्बर ३१ सम्म लागू हुने गरी निषेधाज्ञा जारी गरिएको मुम्बई प्रहरीले जनाएको हो ।

कोरोना भाइरसलाई फैलिनबाट रोक्न भन्दै फौजदारी कानुन ‘क्रिमिनल प्रोसिजर कोड’को खण्ड १४४ बमोजिम डिसेम्बर १६ देखि ३१ गतेसम्म निषेधाज्ञा जारी गरिएको भारतीय समाचार माध्यमले जनाएका छन् । 

बिहीबारदेखि लागू हुने निषेधाज्ञाभर ठूला जमघट गर्न पाइने छैन भने सार्वजनिक भेटघाटमा ५ जनाभन्दा बढी मानिस सहभागी हुन बन्देज लगाइएको छ ।

त्यस्तै, कुनै पनि समारोह वा कार्यक्रम गर्दा कार्यक्रम स्थलको ५० प्रतिशत क्षमता अनुसार मानिसहरू सहभागी गराउनुपर्ने र आयोजकले पूर्ण कोरोना खोप लगाएको हुनुपर्ने छ । 

यसबाहेक, पसल, मल, समारोह वा जमघटमा सहभागी मानिसले पूर्ण खोप लगाएको हुनुपर्ने छ । सार्वजनिक सवारीमा यात्रा गर्ने मानिसले समेत पूर्ण खोप लगाएको हुनुपर्ने छ ।

मुम्बईमा बुधबार मात्र २८९ मा कोरोनाको संक्रमण पुष्टि भएको थियो ।