अबैध नेटवर्किङविरुद्ध इटहरीमा अनुगमन तीव्र, तीन कम्पनीमा तालाबन्दी

न्युजलय २५ साउन २०८०, बिहिबार ०५:२६ मा प्रकाशित

इटहरी । इटहरीमा अबैध तवरले सञ्चालनमा रहेका नेटवर्क मार्केटिङ कम्पनिहरुमा उपमहानगरपालिकाले अनुगमन तीव्र बनाएको छ । उजुरी र गुनासोहरु आउन थालेपछि उपमहानगरपालिकाले  इटहरीका तीन वटा कम्पनीमा ताला लगाएको छ । साथै सञ्चालकलाई तीन दिनभित्र उपस्थित हुन निर्देशनसमेत दिएको छ ।

  

इटहरीमा रहेको ग्लोबल ओरेन्स, हेल्दी लिभिङ नेपाल र रोयल एसोसेट नामक कम्पनीमा तालाबन्दी गरिएको हो । ऐन, नियमावलीमा नेटवर्किङ र पिरामिड शैलीको व्यापार व्यवसाय गर्न नपाइने उल्लेख भए पनि कम्पनीहरुले सोप्रकारको व्यवशाय गरेको पाइएको हो  । 


इटहरीका मेयर हेमकर्ण पौडेल आफै यो काममा खटिएका छन् । युवाहरुलाई आर्थिक प्रलोभन दिइ पैसा असुल्ने र अवैध तरिकाले नेटवर्क मार्केटिङमा लगाइ ठग्ने गुनासोलाई आफूले सुक्ष्म तरिकाले अध्ययन गरी एक्सन लिएको बताएका छन् । 


कम्पनीहरुले इजाजत यौटाको लिने काम अर्कै गर्ने गरेको पाइएको अनुगमन समितिकी संयोजक उपमेयर संगिता चौधरीले बताएकी छिन् ।


यस्ता कम्पनिहरुले जटिल रोग निको पारिदिने झुटो आश्वासनसमेत दिने गरेका छन् । चिकित्सा विज्ञानले नै निको पार्न नसक्ने रोगहरु निको पारिदिने भन्दै मानिसहरुलाई ठग्ने गरेको समेत उजुरीका आधारमा कम्पनिहरुमा अनुगमन गरी तालाबन्दी गरिएको हो ।

 

केही दिनअघि मात्र पनि उपमहानगरपालिकाले एकेएम कम्पनिमा अनुगमन गरी सञ्चालकहरुलाई बोलाएको थियो ।