वनमा साग टिप्न गएकी महिलाको बाघको आक्रमणबाट मृत्यु

न्युजलय १६ पुस २०७८, शुक्रबार ०८:४६ मा प्रकाशित

काठमाडौं । नवलपरासी पूर्व नवलपुरको मध्यविन्दु नगरपालिकाको वनमा साग टिप्न गएकी एक महिलाको बाघको आक्रमणबाट मृत्यु भएको छ ।  


प्रहरीका अनुसार मध्यविन्दु–१२, अरुणखोलाकी ३९ वर्षीया बरिसा सारुलाई बाघले आक्रमण गर्दा उनको मृत्यु भएको हो । शुक्रबार बिहान नजिकैको वनमा साँग टिप्न गएकी सारुलाई बाघले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्व, नवलपुरका प्रहरी निरीक्षक सागर पन्तले बताए ।


सारुसँगै गएका अन्य स्थानीयवासीले बाघले आक्रमण गरेको जानकारी गराएपछि प्रहरीको टोली घटनास्थल पुगेको थियो ।


घटनास्थल अरुणखोला–दुम्कीवास सडक खण्डभन्दा झन्डै पाँच सय मिटर दक्षिणतर्फ रहेको प्रहरीले जनाएको छ ।