भोजपुर । शिलान्यास गरेको ९ वर्षसम्म पक्की पुल नबनेपछि होमताङका बासिन्दा ह्युम पाइपको वैकल्पिक बाटो निर्माणमा जुटेका छन् ।
भोजपुरको हतुवागढी गाउँपालिका र धनकुटाको पाख्रीबास नगरपालिका जोड्ने सुन बालुवा स्थित अरुण नदीमा पक्की पुल नबनेपछि ह्युम पाइप जडानको कार्य थालिएको हो ।
यहाँका स्थानीय व्यवसायीहरुको लगानीमा अस्थायी ह्युम पाइप जडान गरेर वैकल्पिक बाटो निर्माण गर्न लागिएको हो । हालसम्म करिब ४० मिटर ह्युम पाइप जडान भइसकेको र एक साताभित्र निर्माण सम्पन्न गर्ने तयारी रहेको जनाइएको छ । ह्युम पाइप जडानपछि भोजपुरको हतुवागढी, आमचोक, पौवादुङ्मा र रामप्रसाद राई गाउँपालिकाका स्थानीय बासिन्दा लाभान्वित हुनेछन् ।
पक्की पुल निर्माणका लागि वि।सं २०७३ मा सम्झौता भएर २०७६ सालबाट काम सुरु भएको थियो। फुटपाथसहित ११ मिटर चौडाइ रहेको पुलको कुल लम्बाइ एक सय ८० मिटर रहेको छ। यहाँ भ्याटसहित २२ करोड ७५ लाख २८ हजार सात सय लागतमा पुल निर्माण थालिएको हो ।
लुम्बिनी महावीर मृत सन्जिवनी जेभीले निर्माणको जिम्मा पाएको उक्त पुलको पिलर उठाएपछि कामले गति लिन सकेको छैन ।
सम्झौता अनुसार पुल निर्माणको कार्य समयमा सम्पन्न नभएपछि चारपटक म्याद थपिएको थियो । पछिल्लो पटक थप भएको म्याद २०८० असार २२ गतेसम्म रहेको थियो । यो थपिएको म्याद पनि सकिएको छ । पक्की पुल भने अहिलेसम्म बनेको छैन ।
सुनबालुवामा पुल नहुँदा स्थानीयलाई तराई झर्नका लागि समस्या रहेको छ । वर्षौंदेखि झुलुङ्गे पुलबाट आवतजावत तथा सामग्री ओसारपसार गर्न बाध्यता रहेको छ ।