काठमाडौं । भक्तपुरमा माटोको ढिस्कोले पुरिँदा एक जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा सुनसरी गढी गाउँपालिका वडा नं.२ घर भई हाल भक्तपुर बालकोट बस्ने २२ वर्षीय नितेश सदा रहेको जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी बसन्त पाठकले जानकारी दिए।
आइतबार दिउँसो ४ बजेतिर भक्तपुर सूर्यविनायक नगरपालिका वडा नं. २ बालकोट रागिनी हाइटस्थित कौशलटारबाट सिरूटार जाने सडक खण्डको भित्री बस्तीमा नयाँ ढल विस्तारको लागि खाल्डो खन्ने दुई जना कामदार पुरिएको खबर प्रहरीले पाएको थियो।
खबर पाउनासाथ तत्काल प्रहरी घटनास्थल पुगेर उनीहरूको उद्धार गरेको थियो।
उद्धार गरी घाइतेलाई उपचारका लागि भक्तपुर इन्टरनेसनल अस्पताल पठाइएकोमा सुनसरी गढी गाउँपालिका–२ घर भई हाल भक्तपुर बालकोट बस्ने ३० वर्षका सियाराम सदाको उपचार भइरहेको डिएसपी पाठकले बताए। अर्का घाइते नितेशको भने उपचार क्रममा ६ बजे मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनास्थलमा प्रहरी वृत्त ठिमी भक्तपुरबाट १८ जनाको प्रहरी टोली, नेपाली सेना, सशस्त्र प्रहरी, स्थानीय र जेसिबी खटेको थियो।
घटनास्थलमा वृत्त ठिमी भक्तपुरबाट अनुसन्धान अधिकृत सहितको प्रहरी टोली खटिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।