आफ्नै छोरीलाई विष खुवाउने बर्जूका कामत पक्राउ

न्युजलय २५ साउन २०८०, बिहिबार ०८:०४ मा प्रकाशित

इटहरी । सुनसरीमा आफ्नै छोरीलाई विष खुवाउने बाबुलाई प्रहरीले पक्राउ गरेको छ ।

सुनसरीको बर्जू गाउँपालिका–२ का अर्जुन कामतले आफ्नै छोरीलाई विष खुवाएको आरोपमा बुधबार पक्राउ गरिएको हो ।

इलाका प्रहरी कार्यालय दुहबीका अनुसार २० वर्षीय छोरी राधिका कामतलाई बाबुले जबरजस्ती विषादी खुवाएका थिए ।

त्यसपछि बेहोस भएकी राधिकालाई स्थानीयले उपचार गर्न लगेका थिए । उनको अस्पतालको आइसियुमा राखेर उपचार भइरहेको छ ।

मादक पदार्थ सेवन गरी बाबु अर्जुनले घर नआएर बाहिरै बसेको भन्दै छोरीमाथि विष खुवाएको स्थानीयको भनाइ छ । प्रहरीले उनलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।