भारतको अमृतसरमा सिख धर्मग्रन्थको अपमान गरेको भन्दै एक युवकको हत्या

न्युजलय ४ पुस २०७८, आइतबार १२:२९ मा प्रकाशित

काठमाण्डौ । भारतको अमृतसरस्थित सिख धर्मावलम्बीको पवित्र स्थल स्वर्ण मन्दिरमा अपवित्र कार्य गरेको आशङ्कामा एक व्यक्तिको हत्या भएको छ ।

स्थानीय सञ्चारमाध्यमका अनुसार उक्त घटना शनिवार प्रार्थनाका बेला भएको हो। ती युवक स्वर्ण मन्दिरको गर्भगृहमा प्रवेश गरेको बताइएको छ।

सिख मन्दिरको गर्भगृहमा पवित्र धर्मग्रन्थ राखिएको हुन्छ। गर्भगृहमा छिरेर ती व्यक्तिले गुरु ग्रन्थ साहिबसँगै राखिएको प्रार्थनाका बेला प्रयोग हुने तरबार छुने प्रयास गरेको बताइएको छ । त्यसै बेला त्यहाँ परिचालित सुरक्षाकर्मी र भक्तजन उनीमाथि कुटपिट गरेका थिए।

ती व्यक्तिमाथि स्थानीय समयानुसार साँझ पौने ६ बजेतिर आक्रमण भएको थियो

त्यसपछि के भयो भन्ने स्पष्ट छैन। प्रहरीले चाहिँ आफू घटनास्थलमा पुग्दा उक्त व्यक्ति मृत पाइएको र घटनाको अनुसन्धान भइरहेको जनाएको छ।

मृतक २०–२५ वर्षको जस्तो देखिएको प्रहरीले जनाएको छ। उनको परिचय खुलिसकेको छैन। मृतकमाथि सिख धर्मग्रन्थको अपमान गरेको आरोप लागेको थियो।