सोलुखुम्बुमा बोलेरो दुर्घटना, ९ जना घाइते

न्युजलय २८ पुस २०८२, सोमबार ०३:५१ मा प्रकाशित

सोलुखुम्बु । सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिका–६ घुरुन्दु नयाँपानीमा बोलेरो जिप दुर्घटना हुँदा नौ जना घाइते भएका छन्।

सोमबार दिउँसो माप्य दुधकोशी गाउँपालिका–६ वाकुचोकबाट वडा ७ वरोदी रोचमतर्फ जाँदै गरेको बिएडी ७७४२ नम्बरको डबल क्याप बोलेरो जिप सडकबाट करिब १ सय मिटर तल खसेको हो।

घाइतेहरूको स्वास्थ्य चौकी वाकुमा ल्याएर उपचार भइरहेको छ। गम्भीर घाइतेलाई रेफरको तयारी भइरहेको प्रहरीले जनाएको छ।

घाइतेमध्ये चालक माप्य दुधकोशी गाउँपालिका–५ काकु निवासी २८ वर्षीय प्रदिप राई, २८ वर्षीया कुशुम राईको बायाँ कानबाट रगत बगेको र अवस्था गम्भीर छ। २७ वर्षीय बलराम राई र ३० वर्षीय देवेन्द्र राईको टाउकोमा चोट लागेर शरीर नचल्ने अवस्था रहेको र दुवैको अवस्था गम्भीर रहेको छ।

त्यस्तै ३१ वर्षीय सुरेश राईको बायाँ घुँडा, १९ वर्षीय मनोज राईको बायाँ घुँडा र टाउकोमा, १७ वर्षीय सन्दीप राईको ढाडमूनि र टाउकोमा चोट लागेर अवस्था मध्यम रहेको छ। २७ वर्षीया देविका राई र २७ वर्षीया सबिना राईको अवस्था सामान्य भई उपचारपछि डिस्चार्ज गरिएको प्रहरीले जनाएको छ।

दुर्घटनाग्रस्त जिप घटनास्थलमै रहेको र थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।