मधेस प्रदेशमा ६० प्रतिशत भुभागमा मात्र रोपाई, धान उत्पादन घट्ने पक्का

न्युजलय २१ साउन २०८०, आइतबार ०४:१२ मा प्रकाशित

सिरहा । तराइको अन्न भण्डार मानिने मधेस प्रदेशका ८ जिल्लाको ६० प्रतिशत भुभागमा मात्र रोपाइ भएको छ । 


समयमा पानी नपरेको, थोरै पानी परेको र सिँचाइको अर्को माध्यम नभएका कारण किसानले सबै भुभागमा खेती गर्न नसकेका हुन् । सिँचाइ हुने जग्गामा मात्र धान रोपेको र बाँकी बिउ भैंसीलाई खुवाएको किसानले बताएका छन् । खेती भएको जमिनमा पनि सिँचाइ अभावका कारण खेतमा धाँजा फाटेको छ ।


रोपाइ थोरै भएपछि यो वर्ष धानको उत्पादनसमेत घट्ने भएको छ । त्यसका साथै वर्षभरी के खाने भन्ने चिन्तालेसमेत किसानहरुलाई सताएको छ । 


पानीको मुहान मानिने चुरेमा भएको दोहनका कारण भूमीगत पानीको सतहसमेत घटेको छ । त्यसका साथै जनसंख्या वृद्धि, कृषिमा आधुनिकीकरणको अभाव, सिँचाइ नहरहरुको मर्मत, व्यवस्थापनको अभावसमेत तराइमा पानी अभाव हुने कारणका रुपमा रहेको छ ।


भारतले धान निर्यातमा प्रतिबन्ध लगाएको समयमा नेपालमा समेत उत्पादन घट्ने भएपछि खाद्यान्न संकट देखिने सम्भावना बढेको छ ।