सङ्खुवासभाको बाढीमा बेपत्ता एक जनाको शव १३ दिनपछि फेला, १९ अझै बेपत्ता

न्युजलय १५ असार २०८०, शुक्रबार ०४:२० मा प्रकाशित

काठमाडौं । सङ्खुवासभाको हेंवाखोलामा असार २ गते रातिको बाढीमा परेर बेपत्ता भएकामध्ये एक जनाको शव फेला परेको छ ।

अरुण नदी किनारमा टाउको बाहेकको शरीरमात्र फेला परेकाले शव पहिचान हुन नसकेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी सरोज खनालले जानकारी दिए। 

चैनपुर नगरपालिका–११, दुम्कट्टामा बिहीबार साँझ शव फेला परेको सङ्खुवासभा जिल्ला प्रहरी कार्यालयले जनाएको छ । फेला परेको शव खाँदबारी जिल्ला अस्पतालमा शवपरीक्षणका लागि ल्याइएको उनले बताए ।

फेला परेको शव पाँचखपन नगरपालिका–७ का ३३ वर्षीय भुवनसिं तामाङकी श्रीमतीले आफन्तको भएको जिकिर गरे पनि पुष्टि हुन सकेको छैन । बाढी पहिरोमा परेका अन्य १९ जना अझै बेपत्ता भएको प्रहरीले जनाएको छ ।