कोशी प्रदेशको मुख्यमन्त्रीमा थापा : अबको समीकरण के होला ?

न्युजलय २१ असार २०८०, बिहिबार ०९:१६ मा प्रकाशित

विराटनगर । मध्यावधि निर्वाचनको चर्चाका बीचमा   कोशी प्रदेशमा नेपाली कांग्रेसका नेता उद्धव थापा मुख्यमन्त्री चयन भएका छन् । 


२०७९ मंसिरको प्रदेशसभा निर्वाचनमा समानुपातिक सूचीबाट सांसद बनेका थापा प्रदेश संसदीय दलको नेता हुँदै प्रदेशको पाँचौ मुख्यमन्त्री बन्न सफल भएका छन्।


कोशीमा काँग्रेसबाट मुख्यमन्त्री बन्ने थापा पहिलो व्यक्ति हुन्। उनलाई सत्ता गठबन्धनका दलहरु नेपाली काँग्रेस (२९), नेकपा माओवादी केन्द्र (१२) सभामुख (१), नेकपा एकीकृत समाजवादी (४) र जनता समाजवादी पार्टी (१) को समर्थन छ । 


थापाले अबको ३० दिनभित्र प्रदेशसभामा बुहमत सिद्ध गर्नुपर्ने छ। जसका लागि राष्ट्रिय प्रजातन्त्र पार्टीको समर्थन आवश्यक छ । त्यो नभए उनले विश्वासको मत पाउने छैनन्, जसको कारण उनी एक महिनापछि नै पद मुक्त हुनेछन् । 


गठबन्धन दलहरुसँग प्रदेशसभामा सभामुख समेत गरी जम्मा ४७ मत छ। यो ९३ सदस्यीय प्रदेशसभाको बहुमत संख्या हो। 


सदनमा बराबरी मत भए मात्रै सभामुखले निर्णायक मत दिन पाउने हुनाले राप्रपाको समर्थन अनिवार्य छ ।