नो पार्किङ अभियानबाट तत्काललाई पछि हट्यो महानगर, थप व्यवस्थित बनाइने

न्युजलय २४ चैत २०७९, शुक्रबार ०९:१२ मा प्रकाशित

विराटनगर । विराटनगर महानगरपालिका तत्काललाई सडकमा पार्किङ रोक्ने विषयमा पछाडी हटेको छ । 

महानगरपालिकाले सरोकारवालासहितको उपस्थितिमा भएको बैठकले यसअघि तोकिएका पार्किङस्थललाई थप व्यवस्थित बनाउने निर्णय गर्दै पछि हटेको हो । 

महानगरले यसअघि जलजलाचोकदेखि ट्राफिक चोक, शनिमन्दिर–कोशी अस्पतालचोक, महावीर रोड, गुद्री रोड, हिमालय रोडलाई महानगरले पार्किङ निषेधित क्षेत्र घोषणा गरिसकेको छ । पार्किङस्थलमा भौतिक संरचना थप गरी प्रभावकारी रुपमा कार्यान्वयनमा ल्याउने बैठकले निर्णय गरेको छ । त्यस्तै जलजला चोकदेखि डिएसपी अफिससम्म भने पार्किङस्थल निश्चित भएपछि नो पार्किङको निर्णयलाई कार्यान्वयनमा ल्याइने भएको छ । बैठकले यसअघि तोकिएका पार्किङस्थलहरु थप व्यवस्थित गर्दै भौतिक पूर्वाधारहरु थप गरी सीसी क्यामेरा र बत्ती जडान गरी सुरक्षित र व्यवस्थित बनाउने निर्णय गरेको छ ।

मेयर नागेश कोइराला र उपमेयर शिल्पा निराला कार्कीको उपस्थितिमा भएको बैठकले पार्किङस्थललाई जतिसक्दो छिटो व्यवस्थित गरी नो पार्किङलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्ने निर्णयसमेत भएको छ । 

बैठकमा नेपाल उद्योग परिसंघका अध्यक्ष भीम घिमिरे, उपाध्यक्ष दीपक पौडेल, उद्योग संगठन मोरङका अध्यक्ष सुयश प्याकुरेल, मोरङ व्यापार संघका उपाध्यक्ष अनिल साह, विराट व्यापार संघका अध्यक्ष नरेश खत्री, उपाध्यक्ष प्रमोद अग्रवाल, खुद्रा व्यापार संघका अध्यक्ष सञ्जयकुमारसिंह मण्डल, उपाध्यक्ष अञ्जय मिश्रलगायतले महानगरको अभियानमा आफूहरुले साथ दिने प्रतिबद्धता जनाएका थिए । उनीहरुले पार्किङलाई व्यवस्थित र सुरक्षित बनाउनुपर्नेमा जोड दिएका थिए ।